विराटनगर, १५ पुस
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सरकार निर्माण गर्ने विषयमा नेकपा एमाले र एमाओवादीबीच सहमति भए नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलको प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नहुने पनि स्पष्ट पारे ।
उनले एमालेको दोहोरो चरित्रका कारण सरकार निर्माणमा ढिलाई भएको आरोप लगाए । अबको सरकार नेपाली काँग्रेसको नेतृत्व गठन हुनेसमेत उनको दाबी थियो ।
तोकिएको समयभित्र संविधान निर्माण नभए मुलुकले ठूलो क्षति बेहोर्नुपर्ने बताउँदै उनले सबै राजनीतिक दलको ध्यान संविधान निर्माणतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरे ।