नागरिक स्वतन्त्रतालाई ख्याल गरेर राज्य निर्धारण गर्नुपर्ने भारतीय विज्ञहरुको सुझाव

Read Time:2 Minute, 38 Second

चितवन (रत्ननगर), १४ पुस

नेपाल र भारतका विज्ञहरूले नागरिक स्वतन्त्रतालाई ख्याल गरेर राज्य पुनःसंरचना गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान प्रक्रियामा भारतको संविधान निर्माण प्रक्रियाको अनुभव साटासाट विषयक दुईदिने विचार गोष्ठीमा सहभागीहरूले यसका लागि नागरिक मतको खाँचो रहेको औँल्याएका छन् ।

राज्य पुनःसंरचना गर्दा जातजाति, भाषा, सांस्कृतिक पहिचान र प्राकृतिक स्रोतलाई आधार मान्नुपर्ने निष्कर्ष निकालेको मानवअधिकार संरक्षण मञ्च चितवनका सचिव महेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार गोष्ठीले नेपालमा ६०१ जना सभासद् नै निर्णयक हुन नसक्ने भएकाले महत्वपूर्ण विषयमा नागरिकको चाहना बुझ्न जरुरी भएको निष्कर्ष निकालेको छ ।

सो अवसरमा भारतका कानुनविद् शतिश्चन्द्र झाले भारतमा नागरिकको मत नबुझी सभासद्को निर्णयको आधारमा जातजाति र भाषालाई आधार नबनाएर राज्य निर्माण गरेकाले आजसम्म समस्या बल्झिरहेको बताए ।

गोष्ठीमा भारत र नेपालका संविधानका ज्ञाता, राजनीतिक विज्ञ, अधिकारकर्मी, कानुन व्यवसायी, नागरिक समाजका प्रतिनिधि, संविधानसभाका सभासद् एवम् पूर्वसांसदहरूको सहभागिता रहेको छ ।

आदर्श समाज नेपालको आयोजना तथा बिपी कोइराला नेपाल–भारत फाउन्डेसन एवम् मानवअधिकार संरक्षण मञ्च चितवनको सहआयोजनामा हिजोदेखि गोष्ठी सुरु भएको थियो ।

सहभागीहरूले नेपालको संविधान निर्माण प्रक्रियामा भारतीय अनुभव महत्वपूर्ण हुने बताएका थिए ।

अधिकारकर्मी कपिल ज्ञवालीले छलफल संविधान निर्माणका लागि कोसेढुङ्गा सावित हुने बताउनुभयो । सहभागी सभासद्हरूले गोष्ठीमा उठेका विषयवस्तु संविधानसभामा जानकारी गराउनेसमेत बताएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %