काठमाडौँ, १३ पुस
संविधानसभाअन्तर्गत विषयगत समितिका प्रतिवेदनमाथि देखिएका विवादित विषयलाई टुङ्ग्याएर संविधानसभामा छिटोभन्दा छिटो पठाउन दलहरू सहमत भएका छन् ।
सभाअध्यक्ष सुवास नेम्बाङको अध्यक्षतामा आज सिंहदरबारमा बसेको २७ राजनीतिक दलको बैठकले विषयगत समितिमा देखिएका विवादहरू टुङ्ग्याएर यथाशक्य छिटो संविधानसभामा पठाउने निर्णय गरेको नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशीले जानकारी दिए ।
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा गठित कार्यदलको म्याद नथपिएको सन्दर्भमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बसेर विवादित बाँकी विषय टुङ्ग्याउँदै जाने सहमति भएको कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहले बताए ।
संविधानसभाका ११ वटा विषयगत समितिमध्ये सातवटा समितिको प्रतिवेदनमाथि रहेका जम्मा २१० विवादमध्ये कार्यदलले १२७ वटा शीर्षकमा सहमति कायम गर्न सफल भएको थियो ।
शासकीय र सङ्घीयताको स्वरूप र निर्वाचन प्रणाली कस्तो हुने तथा बहुलवाद स्वीकार वा नगर्नेलगायतका महत्वपूर्ण मुद्दामा दलहरूबीच सहमति जुट्न सकेको छैन ।
नेकपा (एकीकृत) का सभासद् परी थापाले बैठकमा दुईवटा एजेन्डा प्रस्तुत भएकोमा कार्यदलले सहमति जनाएका बुँदाहरूलाई संविधानसभामा कुन प्रक्रिया अपनाएर पठाउने र सहमति हुन बाँकी विषयमध्ये कस्ता विषयलाई प्राथमिकताका साथ टुङ्ग्याउने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।
आजैदेखि २७ दलको बैठक नियमितरूपमा बस्ने सहमति भएको पनि उनले बताए । ––––––