मोरङ १२ पुस
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले माओवादीले सत्ताकब्जा र जनविद्रोहको नीति नछाडेसम्म संविधान बन्न नसक्ने भन्दै संविधान बनाउने नबनाउने भन्ने बल माओवादी कोर्टमै गएको बताएकाछन् ।
नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले निर्धारित समयमा संविधान बन्ने र नबन्ने अब माओवादीको व्यवहारमै निर्भर रहेको उल्लेख गरे।
अहिले बहुलवाद मान्ने कि नमान्ने विषयको मतभेदले संविधान निर्माण प्रक्रिया अड्किएको उल्लेख गर्दै उनले बहुलवाद बिनाको प्रजातन्त्रको कुनै अर्थ नरहने बताए ।
उनले राज्यको पुनःसंरचना र शासकीयस्वरुपको विषयमा देखिएका केही विवाद छलफल र सहमतिबाट टुङ्गो लगाउन सकिने भएकाले माओवादी बहुलवाद मान्न तयार भए संविधान निर्माण समयमै गर्न सकिने छ भने ।
शान्ति प्रक्रियामा गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने विश्वासिलो आधार तयार भए नेपाली काँग्रेसले प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट खडा गरेका रामचन्द्र पौडेलको उम्मेदवार फिर्ता लिने नेता केसीले जानकारी दिए ।
नत्र प्याकेजमा सहमति वा संसद्बाटै प्रधानमन्त्रीको निर्वाचनको टुङ्गो लगाएमात्र उम्मेदवारी फिर्ता हुन्छ भन्दै उनले अध्यक्षात्मक प्रणाली र चक्रीय प्रणाली सत्तालोलुपता र सत्ताको बाँडफाँड गर्ने दाउमात्र भएकाले नेपाली काँगे्रसले स्वीकार गर्न नसक्ने बताए ।