माओवादी कार्यकर्ताको मानवकङ्काल चोरीपछि अधिकारवादी र सञ्चारकर्मीद्वारा अनुगमन

Read Time:3 Minute, 20 Second

लमजुङ, पुस ११

उत्तरी लमजुङको सिम्पानीस्थित पामचोकमा एनेकपा माओवादीका दुई कार्यकर्ताको कङ्काल अज्ञात समूहले गाडिएको स्थानबाट उत्खनन् गरी बेपत्ता बनाएको विषयमा राष्ट्रिय मानवअधिकार आयोगको एक टोलीले अनुगमन गरेको छ ।

    लमजुङको सिम्पानी गाउँ विकास समितिको वडा नं ५ पामचोकमा गाडिएका दुईवटा शव गत पुस ३ गते राति रहस्यमय तरिकाले बेपत्ता भएका थिए । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका ज्योति घिमिरे, बद्री सुवेदी, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लमजुङका प्रतिनिधि कृष्णप्रसाद अधिकारी र स्थानीय सञ्चारकर्मीहरुको टोलीले घटनास्थल पुगेर त्यसको अनुगमन गरेको  हो ।

    द्वन्द्वकालमा तत्कालीन सुरक्षाफौजद्वारा मारिएका माओवादीका दुई कार्यकर्ता गाडिएको सिम्पानीको सो स्थानमा माटो थुप्रिएको देखेर हेर्न जाँदा गाउँलेले शव गाडिएको ठाउँमा खाल्डो र केही लुगामात्र देखेपछि त्यहाँ गाडिएका शवको कङ्काल हराएको थाहा भएको अनुगमन टोलीलाई बताएका छन् ।

    विसं २०६१ कात्तिक २८ गते दुई माओवादी लडाकूहरु लमजुङ चन्द्रेश्वर–२ की रीना अधिकारी र सल्यान कालागाउँ–६ की जीतकुमारी पुनमगरलाई सिम्पानीको पामचोकमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर हत्या गरेका थिए ।

    सोही समयमा माओवादीले शव गाडेर गएको छ वर्षपछि गतहप्ता उक्त स्थानमा उत्खनन् गरी अस्थिपञ्जर नै बेपत्ता बनाएपछि स्थानीय बासिन्दा आश्चर्यचकित भएका छन् ।

    एकीकृत नेकपा (माओवादी) लमजुङका कार्यालय सचिव देवेन्द्र पौडेलले घटनाको अनुसन्धान हुनुपर्ने बताउनुभयो । गाडिएको शव उत्खनन् भएकोबारे स्थानीय प्रशासन भने बेखबर छ । यस बारेमा राखेको जिज्ञासामा निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछानेले घटनाको केही जानकारी नभएको प्रतिक्रिया दिए ।

    स्थानीय गाउँलेले रातारात शव गाडिएको स्थानबाट उत्खनन् गरी बेपत्ता बनाएको घटनाको स्वतन्त्र अनुसन्धान गर्न माग गर्दै स्थानीय प्रशासनमा उजुरी जाहेर गर्ने तयारी गरेका छन् ।

    अनुगमनमा गएको टोली, स्थानीय राजनीतिक दलका कार्यकर्ता र गाउँलेले ६ वर्षअघि गाडिएका शवका कङ्काल माओवादी, सम्बन्धित परिवार वा तस्करले उत्खनन् गरेको हुनसक्ने अनुमान गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %