अर्घाखाँची, ११ पुस
अर्घाखाँचीको पटौटीमा आज बिहान भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको बताइन्छ ।
पटौटीबाट सदरमुकाम सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज १४१९ नंको जीप पटौटीको देउराली नजिकै दुर्घटना भएको हो ।
मृत्यु हुनेमा नेपाली काँग्रेस पटौटीका सभापति भागिरथ थापा क्षेत्री र पटौटीकै पेमीकला विक रहेका छन् । त्यसैगरी घाइते हुनेमा अधिकाँश पटौटी वडा नं ५ का वासिन्दा रहेको स्थानीय नारायण पोख्रेलले बताए ।
भागिरथ थापा क्षेत्रीको घटनास्थलमै र पेमीकला विकको उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको घाइतेसँगै मिसन अस्पताल गएका सुमन घिमिरेले बताउनुभयो । घाइते १६ जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।