सहमति गरी अधिवेशन बोलाउन प्रधानमन्त्रीलाई सुझाव

Read Time:2 Minute, 32 Second

    काठमाडौँ, १० पुस 

प्रधानमन्त्री माधवकुमार नेपाललाई राजनीतिक सहमति कायम गरी छिटोभन्दा छिटो व्यवस्थापिका–संसदको अधिवेशन बोलाउन सत्तारुढ दलका नेताहरुले सुझाव दिनुभएको छ ।

    प्रधानमन्त्री नेपालले आज बिहान आफ्नो निवास बालुवाटारमा सत्तारुढ दलका नेताहरुलाई डाकेर संसदको नियमित अधिवेशन बोलाउने सन्दर्भमा सुझाव लिएका  थिए  ।

    प्रधानमन्त्री नेपाललाई राजनीतिक सहमति कायम गरी संसदको नियमित अधिवेशन छिटोभन्दा छिटो बोलाउन बैठकमा सल्लाह दिइएको कानुन मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए  ।

    सरकारले अनमिनको म्याद अन्तिम पटक भनी यसअघि नै निर्णय गरी कार्यान्वयन गरिसकेकाले यस सम्बन्धमा थप निर्णय गर्न आवश्यक नरहेको विषयमा समेत बैठकमा छलफल भएको उनले जानकारी दिए ।

    बैठकमा सहभागी नेताहरुले माओवादी लडाकूको समायोजन र पुनःस्थापना, वाइसिएलको अर्धसैन्य संरचना अन्त्य, कब्जा  घरजग्गा फिर्तालगायतका विषयमा पनि सहमति कायम गरेर अघि बढ्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।

    यसअघि तीन दलबीच भएको सहमतिअनुसार दलहरुबीच सरकार निर्माणलगायतका विषयमा छलफलबाटै सहमति खोज्न र त्यही आधारमा संसदको नियमित अधिवेशन बोलाउन दलहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

    बैठकमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला,  संसदीय दलका नेता रामचन्द्र पौडेल, नेकपा (एमाले)का नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपा (माले)का महासचिव सिपी मैनाली, सद्भावना पार्टीका अध्यक्ष  तथा आपूर्तिमन्त्री राजेन्द्र महतोलगायत सहभागि थिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %