बुटवलमा कामचलाउ प्रधानमन्त्री र तिनका मन्त्रीले ठूलठूला बाचा गरे

Read Time:4 Minute, 57 Second

९ पुस

प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले चाडै  नै संसदको नियमित अधिवेशन बोलाउने बताएकाछन्  । दलहरुबीच आगामी आइतबारसम्म बैठक बसी सहमतिको प्रयास खोजिने र त्यसपछि संसदको नियमित अधिवेशन बोलाईने उनको भनाई थियो । संक्रमणकालको अन्त्यका लागि दलहरुबीच सहमति, सहकार्य र समझदारी अपरिहार्य आवश्यकता भएकोले यसको  विरुद्ध कोही जान नसक्ने उनको भनाई थियो । प्रधानमन्त्री नेपालले माओवादीसँग भएका सहमतिलाई साकार रुप दिन पुस मसान्तभित्र लडाकु र हतियारको व्यवस्थापन गरी क्यान्टोनमेन्ट खाली गर्नुपर्ने बताए । उनको भनाई थियो, ‘आगामी सोमबार सम्म लडाकु र हतियारबारे माओवादीसँग छलफल गरी सहमतिमा पुगिनेछ ।’
 बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आजदेखि बुटवलमा सुरु भएको औद्योगिक व्यापार मेला, कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव उदघाटन गर्दै उनले उद्योगी व्यवसायीलाई कुनै पनि समूहको चन्दा आतंक, डर, धम्की र दवाबमा नझुक्न आग्रह गरे । उनले गलत क्रियाकलापलाई ढाकछोप नगर्न पनि आग्रह गरे । उद्योगी व्यवसायीलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भने “अरुले धम्क्याउँदैमा र दवाब दिंदैमा नझुक्नुस”
 काठमाडौं–पोखरा–लुम्बिनी–चितवन–हुँदै निजगढ सम्मको फास्ट ट्रयाक सडक निर्माणको सोंच सरकारले लिएको र यसले समग्र मुलुकको पर्यटन र आर्थिक क्षेत्रको विकास हुने पनि प्रमको भनाई थियो । पर्यटन वर्ष नजिकै आइरहेकाले पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको संरक्षण र संवद्र्धनमा व्यापक प्रचारप्रसार गरिनुपर्ने उनको भनाई थियो ।
  नेपालले लुम्बिनीमा बुद्धको सबैभन्दा अग्लो मुर्ती स्थापना गर्न दातृ निकायले सहयौगको आश्वासन दिएका र भैरहवा विमानस्थलाई अन्तर्राष्ट्रिय उडान क्षमताको बनाउन एडिबीले सहमति गरिसकेको जानकारी दिए । त्यस्तै वीरताको प्रतीकका रुपमा रहेको बुटवलको ऐतिहासिक तथा पुरातात्विक जीतगढी किल्लाको संरक्षण र संवद्र्धनमा सरकारले विशेष ध्यान दिएको पनि उनले बताउन छुटाएनन् ।बजेटमा राजनीतिक हस्तक्षेप नगर्न र बजेट कार्यान्वयनपश्चात बैंक तथा वित्तिय संस्थाको ब्याज तथा आकाशिंदो मूल्यवृद्धि न्युनीकरण हुने पनि उनले उल्लेख गरे  ।
  सिंचाईमन्त्री बालकृष्ण खाणले लुम्बिनीको विकाले देशकै विकासलाई प्रभाव पार्ने भएकाले यस क्षेत्रमा बजेट केन्द्रित गर्नु अपरिहार्य रहेको बताए ।
 संस्कृतिमन्त्री डा. मिनेन्द्र रिजालले मुलुकको बजेटमा निजी क्षेत्रको ७० प्रतिशत योगदान रहेकाले निजी क्षेत्रसँग सहकार्य गरी सरकार अघि बढेको बताए । उनले लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रको उजागर गर्न सरकार प्रयत्नशील रहेको बताए । पूर्व मन्त्री तथा एमालेका सचिव विष्णु पौडेलले पनि बिभिन्न आश्वासन दिएकाथिए ।
सबैले ठूलठूला आश्वासन दिनथालेपछि नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले उद्योगी व्यवसायीको अरबौं रुपैयाँ लगानी भएको क्रेसर उद्योग र अवरुद्ध वन पैदावार तत्काल सञ्चालनका लागि वातावरण बनाउन सरकारसँग आग्रह गरे ।
 संघका अध्यक्ष शंकर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार, उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पूर्व सांसद सूर्यप्रसाद प्रधानलगायतले बोलेकाथिए । पुस २० गतेसम्म चल्ने मेलामा ३५० स्टल छन् ।  

गोविन्द घर्ति रुपन्देही
 
 
 
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %