काठमाडौँ, ९ पुस
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युयिनय (अनेरास्ववियु)ले आफ्ना कार्यकर्तामाथि भएको आक्रमणमा संलग्न नेविसङ्घका कार्यकर्तालाई पक्राउन गर्नुपर्ने माग राख्दै आह्वान गरेको उपत्यका बन्द सकिएको छ ।
गत आइतबार अनेरास्ववियुका वीरेन्द्र रावललाई त्रिचन्द्र क्याम्पस हातामा नेविसङ्घका गिरी र भीमसेन गुरुङले पछाडिबाट खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकाले अनेरास्ववियुले आज १२ बजेसम्मका लागि बन्दको आह्वान गरेको थियो ।
स्नातक तहको दोस्रो वर्षको परीक्षालाई मध्यनजर गरी १२ बजेसम्मका लागि बन्दको आह्वान गरिएको भए पनि बन्दले सो परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई मार परेको थियो ।
बन्दका क्रममा उपत्यकाभित्रका क्याम्पस हाता परिसरमा तनाब भएको थियो । त्रिचन्द्र क्याम्पसमा २४ जना र आरआर क्याम्पसबाट १२ जना अनेरास्ववियुका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
अनेरास्ववियुका सचिव रचना खड्काले आफ्नो सङ्गठनले गरेको उपत्यका बन्द सफल भएको दाबी गर्दै आफ्ना कार्यकर्तामाथि आक्रमण गर्नेहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरे ।
बन्दका क्रममा अनेरास्ववियुले उपत्यकाका विभिन्न चोकमा धर्ना दिँदै नाराजुलुससमेत गरेका थिए ।