बाँके (खजुरा), ८ पुस
सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेलले एकीकृत नेकपा (माओवादी)ले सबै दलको आग्रहलाई निष्क्रीय पार्ने संयन्त्र गरेको आरोप लगाएकाछन् ।
प्रेस चौतारी नेपाल बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चारमन्त्री पोखरेलले विभिन्न बहानामा जनविद्रोह गर्ने चेतावनी दिँदै माओवादीले शान्ति प्रक्रियामा भाँजो हाल्ने काम गरेको बताए ।
उनले भने ‘शान्ति र संविधान अहिलेको मुख्य विषय वस्तु भए पनि माओवादीले त्यसलाई लत्याएर आफ्नो अधिकार लाद्न खोजेको छ ।’
शान्ति र संविधानको बहानामा माओवादीले माधवकुमार नेपालको सरकारलाई राजीनामा दिन लगाई षड्यन्त्र गरेको र उक्त षड्यन्त्रको भ्रममा आफ्ना पार्टीका केही नेता परेको स्वीकार्दै मन्त्री पोखरेलले अब माओवादीको कुनै पनि कुराको विश्वास आफूहरूलाई नभएको बताए ।
शान्ति प्रक्रिया, संविधान निर्माण र लडाकू, हतियार व्यवस्थापन हुन नदिन माओवादीले अनमिनको म्याद थप्नु पर्छ भनेर षड्यन्त्रमूलक दबाब दिएको उल्लेख गर्दै उनले भने – ‘अनमिनको म्याद थपिँदैन यो सरकारको अन्तिमपटकको सम्झौता हो, अनमिन नरहे पनि अनमिनले सहयोग गर्ने आश्वासन दिएको छ ।’
चक्र प्रणालीद्वारा प्रधानमन्त्री बनाउने विषयमा आफूहरू तेस्रोपटकमा प्रधानमन्त्रीको जिम्मेवारी लिने कुरामा सहमत भएको तर माओवादीले विश्वासघात गर्ने प्रयास गरेमा आफूहरूले सो निर्णयलाई पुनः परिमार्जन गर्न बाध्य हुने मन्त्री पोखरेलको भनाइ थियो ।