काठमाडौँ, ८ पुस । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)ले आज बस्ने संसद्को विशेष अधिवेशनको मतदान प्रक्रियामा अधिवेशनका प्रस्तावक एकीकृत नेकपा (माओवादी)को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
सो दलको आज बसेको संसदीय दलको बैठकले एनेकपा (माओवादी)सहित अन्य दलद्वारा समावेदन गरी बोलाइएको विशेष अधिवेशनमा ल्याइएको प्रस्तावलाई बहुमत र अल्पमतबाट टुङ्गो लगाउनुभन्दा सो प्रस्तावले मूल राजनीतिक पार्टीको सहकार्यमा असर पार्ने हुनाले सो प्रस्ताव फिर्ता लिनु सही हुने निर्णय गरेको पार्टीका महासचिव जितेन्द्रनारायण देवले जानकारी दिनुभयो ।
बैठकले प्रस्ताव फिर्ता गर्न एनेकपा माओवादीलगायत अन्य पार्टीसँग अनुरोध गर्ने निर्णय गर्नुका साथै मतदान प्रक्रियामा गएको खण्डमा विपक्षमा मतदान गर्ने निर्णय गरेको बताइएको छ ।
बैठकले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि यथासक्य चाँडै नियमित अधिवेशन बोलाउनुपर्ने ठहर गरेको पनि महासचिव देवले जानकारी दिए ।