काठमाडौँ, ८ पुस
एनेकपा (माओवादी)द्वारा संसदको विशेष अधिवेशनमा प्रस्तुत प्रस्ताव फिर्ता लिई अधिवेशन अन्त्य गर्न र सरकारले व्यवस्थापिका–संसदको नियमित अधिवेशन अविलम्ब बोलाउन प्रमुख तीन राजनैतिक दलहरु सहमत भएका छन् ।
तीन दलका शीर्ष नेताको शान्ति तथा पुनःनिर्माण मन्त्रालय सिंहदरबारमा आज भएको बैठकले अविलम्ब बोलाइने अधिवेशनमा सरकार गठनको जारी प्रक्रियालाई प्राथमिकता दिने कुरामा पनि सहमति जुटेको छ ।
त्यसका लागि व्यवस्थापिका–संसदको आगामी नियमित अधिवेशन अगावै राजनैतिक दलहरुबीच गम्भीर वार्ता गरी राष्ट्रिय सहमतिको प्रयास गर्नेमा पनि बैठकमा सहमति भएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा भएको सो बैठकमा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल सहभागी थिए ।
विशेष अधिवेशनमा एमाओवादीलगायतका राजनैतिक दलले व्यवस्थापिका–संसदको अधिवेशनमा प्रस्तावबारे मन्तव्य दिने सहमति भएको छ ।
त्यसपछि सरकारका तर्फबाट भनाइ राखिनेछ । दुवैको भनाइपछि प्रस्तावकले प्रस्ताव फिर्ता लिई अधिवेशन अन्त्य गर्ने सहमति भएको नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बैठकपछि वताए ।
“सरकारले संसदको नियमित अधिवेशन अविलम्ब बोलाउन सिफारिस गर्ने र सो अधिवेशनमा सरकार गठनको जारी प्रक्रिया प्राथमिकतामा रहनेछ,” नेता पौडेलले भने ।
प्रधानमन्त्रीले पनि आजको शीर्ष नेताहरुको बैठकमा विशेष अधिवेशन अन्त्य गर्ने र नियमित अधिवेशन बोलाउनेबारेमा सहमति भएको जानकारी दिए ।
एनेकपा (माओवादी)ले सरकार गठन र प्रधानमन्त्री चयनसम्बन्धी नियमावली संशोधन गर्नेगरी अन्य केही दलका सभासद् समेत १८७ सांसदले राष्ट्रपति समक्ष संसदको विशेष अधिवेशनको लागि अनुरोध गरेका थिए ।
सो बमोजिम राष्ट्रपतिबाट संसदको विशेष अधिवेशन पुस ४ गते आह्वान भएको थियो ।
यसअघि भएको काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकले विशेष अधिवेशनलगायत वर्तमान राजनैतिक गतिरोध अन्तका लागि विशेष अधिवेशन केही दिनका लागि स्थगित गर्न आग्रह गरेका थिए ।