विशेष अधिवेशन शुरु गर्न तीन शीर्षदल सहमत

Read Time:3 Minute, 55 Second

    काठमाडौँ, ४ पुस 

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच आज बिहान शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा  संसद्को विशेष अधिवेशनलगायत वर्तमान राजनीतिक गतिरोध अन्त्यका बारेमा छलफल भएको छ ।

    नेकपा एमाले, एनेकपा (माओवादी) र नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच हात्तीवनदेखि सुरु भएको वार्तालाई निरन्तरता दिँदैे आज यो बैठक बसेको हो । आजको छलफलमा नेपाली काँग्रेस, नेकपा एमाले र प्रधानमन्त्रीले माओवादीले विशेष अधिवेशनमा राख्ने प्रस्ताव फिर्ता लिएर नियमित अधिवेशनमा जान आग्रह गरेका थिए ।

    विशेष अधिवेशनको सुरुवातमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र बैठकको अन्त्य गरेर नियमित अधिवेशनमा जाने निर्णय आजै गर्न पनि माओवादीलाई आग्रह गरिएको थियो ।  

    माओवादीले भने संविधानमा विशेष अधिवेशन नभनिएको भए  पनि परम्पराअनुसार सांसदहरुको आग्रहअनुरुप डाकिएको विशेष अधिवेशनमा देशको सरकार विहीनताको स्थिति अन्त गरी यही अधिवेशनमा प्रधानमन्त्रीको निर्वाचनसम्म गर्न आग्रह गरेको थियो ।

    तीनदलको बैठकपछि एनेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री, नेकपा एमाले र नेपाली काँग्रेसले विशेष अधिवेशनमा राखिने प्रस्ताव फिर्ता लिएर नियमति अधिवेशनमा जान प्रस्ताव राखेको वताए  ।

    उनले माओवादीले विशेष अधिवेशन डाकिसकिएकाले सभामुख र समावेदन गर्ने अन्य दलसँग पनि छलफल गरेर सहमतिमा अघि बढ्ने बारेमा छलफल भएको बताए  ।

    “राजनीतिक गतिरोध अन्त्य गर्न सहमतिमा अघि बढ्ने कुरामा छलफल भयो, विशेष अधिवेशनको सुरुवात गर्ने तर केही दिन छलफलका लागि स्थगित गरेर आठ गते संसद्को बैठक डाक्ने बारेमा कुरा भयो,” नेता श्रेष्ठले भने । उनले अधिवेशन स्थगित गरेर बीचमा हुने छलफलको निष्कर्षका आधारमा बन्ने नयाँ वातावरण अनुरुप अघि बढ्ने पनि बताए  ।

    नेकपा एमालेका नेता भरतमोहन अधिकारीले विशेष अधिवेशनको आह्वान भइसकेकाले छलफलबाट यो प्रक्रियालाई सहमतिमा टुङ्ग्याएर नियमित अधिवेशनमा जाने बारेमा कुरा भएको जानकारी दिए  ।

    “राजनीतिक गतिरोध अन्त्य गर्न र नियमित अधिवेशनमा जाने बारेमा अहिलेको गतिरोध अन्त्य गर्न गम्भीर कुराकानी भएको छ,” नेता अधिकारीले भने ।

    सो छलफलमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी तथा नेकपा एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता एवम् प्रधानमन्त्री माधवकुमार नेपाल, नेता भरतमोहन अधिकारी सहभागी थिए ।

    माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष द्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %