काठमाडौँ, ४ पुस
सेना समायोजन विशेष समितिको आजको बैठकमा अनमिनको बर्हिगमनअघिको एक महिनाको अवधिमा शान्ति प्रक्रियाका सम्बन्धमा गर्नुपर्ने कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत भएको छ ।
प्रतिवेदनमा एक महिनाको अवधिमा माओवादी लडाकूको समायोजन, व्यवस्थापन र पुनःस्थापनाका सम्बन्धमा लिनुपर्ने निर्णयबारे उल्लेख गरिएको छ ।
बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै समितिका सदस्य एवम् नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले बैठकमा समितिअन्तर्गत रहेको सचिवालयले अनमिन जानुभन्दा पहिले एक महिनाको अवधिमा माओवादी लडाकू समायोजनबारे गर्नुपर्ने कार्ययोजनाको प्रतिवेदन प्रस्तुत भएको जानकारी दिए ।
अर्का सदस्य एवम् नेपाली काँग्रेसका नेता डा रामशरण महतले शान्ति प्रक्रियालाई अघि बढाउन शीर्ष तहमा राजनीतिक छलफल आवश्यक रहेको प्रतिक्रिया दिए ।
उनले भोलि बस्ने शीर्ष नेताहरुको बैठकमा शान्ति प्रक्रियाबारे विशेष छलफल भएपपछि यो प्रक्रियाले तीव्रता पाउने र निकास निस्कने विश्वास व्यक्त गरे ।
उनले प्रतिवेदनमाथि छलफल गर्नुअघि राजनीतिक सहमतिको आवश्यकता महसुस गरी आजको बैठक स्थगित गरिएको जानकारी दिए ।