सेना समायोजन सचिवालयमा जनशक्ति थप्ने सहमति

Read Time:2 Minute, 20 Second


 

  काठमाडौँ, २ पुस

सेना समायोजन विशेष समितिको सचिवालयका लागि आवश्यक दक्ष जनशक्ति थप्न विशेष समितिका सदस्य तथा सचिवालयबीच सहमति भएको छ ।

    सिंहदरबारस्थित समितिको कार्यालयमा विशेष समितिका सदस्य तथा सचिवालयका कर्मचारीहरुबीच आज भएको बैठकमा सैनिक र गैरसैनिक गरी आवश्यक ३०० दक्ष जनशक्ति थप्ने सहमति भएको जानकारी समितिका सदस्य डा रामशरण महतले सञ्चारकर्मीलाई जानकारी दिए । 

    बैठकमा संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन)को बर्हिगमनपछि लडाकूको रेखदेख, समायोजनसम्बन्धी संयन्त्र निर्माण, समायोजन तथा पुनःस्थापनाका लागि कार्ययोजना बनाउने विषयमा समेत छलफल केन्द्रित भएको बताइएको छ ।

    सचिवालयले अहिलेसम्म गरेका कामकारबाहीबारे आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेपछि सो बैठकमा समिति र सचिवालयबीचको सम्बन्ध, लडाकू समायोजन तथा पुनःस्थापना, सचिवालयको सुदृढ व्यवस्थापनका विषयमा पनि छलफल भएको जनाइएको छ ।

    बैठकमा अनमिनको बर्हिगमनपछि एकीकृत नेकपा (माओवादी)बाट लडाकूको रेखदेख, समायोजनसम्बन्धी संयन्त्र, समायोजन तथा पुनःस्थापनाका लागि कार्ययोजनासहितको प्रस्ताव आउनसक्ने भएकाले सोसम्बन्धमा पनि छलफल भएको सचिवालय सदस्य दीपकप्रकाश भट्टले बताए  ।

    अनमिनको बर्हिगमनपछि लडाकू रेखदेख, लडाकू समायोजनसम्बन्धी संयन्त्र, समायोजन तथा पुनःस्थापनाका लागि ‘कमान्ड कन्ट्रोल’ सचिवालयले गर्ने भएको छ ।

    विशेष समितिको निर्णयानुसार सेना समायोजन विशेष समितिको सचिवालयको संयोजकमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको छ । संयोजक शर्माले सचिवालयका लागि आवश्यक जनशक्तिको अभाव देखाउँदै आएका थिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %