काठमाडौँ, २ पुस
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाले पेट्रोलियम पदार्थ र एलपी ग्यासमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै आज बिहान ९ बजेदेखि ११ बजेसम्म उपत्यकामा गरेको चक्काजामको खासै प्रभाव परेन ।
सरकारले गतसाता इन्धनको मूल्यवृद्धि गरेपछि सो पार्टीले विभिन्न विरोधस्वरुप निगममा धर्ना, जुलुस गर्दै आज उपत्यकाका तीनवटै जिल्लामा चक्काजामको आयोजना गरेको हो ।
पार्टीका सहमहामन्त्री एवम् प्रचारप्रसार विभाग प्रमुख राजाराम श्रेष्ठले आज गरिएको शान्तिपूर्ण चक्काजामको क्रममा बालाजु, गोङ्गबु, गौशाला, बानेश्वर, रत्नपार्क, भक्तपुरको सल्लाघारीलगायत स्थानबाट करिब १०० कार्यकर्ता प्रहरीले पक्राउ गरेकाले उनीहरुलाई अविलम्ब रिहाइको माग गरेका छन् ।
उनले मूल्यवृद्धि अपारदर्शी ढङ्गले भएकाले सरकारले मूल्य फिर्ता नलिँदासम्म आन्दोलन सशक्तरुपमा अघि बढाउने बताए ।