काठमाडौँ, १ पुस
माओवादी लडाकूको समायोजन, पुनःस्थापन र रेखदेखका लागि गठित सेना समायोजन विशेष समितिको आज बसेको बैठकले एक महिनाभित्र सेना समायोजन तथा पुनःस्थापना कार्यको तालिका निर्माण गर्न सचिवालयलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा प्रधानमन्त्री एवम् मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसेको थियो ।
समितिले नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मालाई सचिवालयको संयोजक नियुक्त गरिसकेको छ ।
अनमिन नेपालबाट फर्कनु अघिसम्म समायोजन र पुनःस्थापनासम्बन्धी कार्यतालिका निर्माण गर्न सचिवालयलाई निर्देशन दिइएको बैठकपछि समितिका सदस्य एवम् एकीकृत नेकपा .(माओवादी) नेता वर्षमान पुनले जानकारी दिए ।
उनले सचिवालय संयोजकलाई राजनीतिक अन्तर्वार्ता नदिन बैठकले सचेत गराएको उल्लेख गरे ।