काठमाडौँ, २९ मङ्सिर । निजामती सेवाका १५ जना कर्मचारीले आउँदो बैशाखसम्ममा सगरमाथा आरोहण गर्ने भएका छन् ।
निजामती कर्मचारी सगरमाथा आरोहण अभियान–२०११ अन्तर्गत उनीहरुले सगरमाथा आरोहण गर्ने भएका हुन् ।
आरोहण टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लीलामणि पौडेलले गर्नुहुनेछ भने त्यसमा पर्यटन मन्त्रालयका छ जना र बाँकी अन्य मन्त्रालयका कर्मचारीको सहभागिता रहनेछ ।
पर्यटन वर्ष सन् २०११ लाई सफल बनाउनका लागि विश्वभरका निजामती र कर्पोरेट हाउसका कर्मचारीलाई राम्रो सन्देश प्रवाह गरेर उनीहरुलाई आरोहणका लागि आकर्षित गर्ने उद्देश्यले सो आरोहण गर्नका लागि आवश्यक तयारी भइरहेको पर्यटन मन्त्रालयका शाखा अधिकृत डोरेन्द्र निरौलाले बताए ।
उनले त्यसका लागि सहभागी हुने कर्मचारीको स्वास्थ्य परीक्षण, पर्वतीय प्रशिक्षणलगायतका अन्य आवश्यक कार्य सम्पन्न भइसकेको भन्दै आरोहण अभियान कसले जिम्मा लिने भन्नेबारे टुङ्गो लागिनसकेको बताए ।
आरोहणका लागि पर्वतीय प्रशिक्षणअन्तर्गत कर्मचारीहरुले रसुवा जिल्लाको ‘याला पिक’ नामक पाँच हजार ५६० मिटर अग्लो शिखर यही वर्षको गत २८ जुनमा सफल आरोहण सम्पन्न गरेका छन् ।
आरोहणका लागि सहभागी कर्मचारीमा लीलामणि पौडेल, सन्तकुमार महर्जन, मुक्तिराम रिजाल, हरि ढकाल, कुमार गिरी, हरिप्रसाद गुरागाईं, तुलसीराम भण्डारी, लक्ष्मण भट्टराई, सुविर श्रेष्ठ, दुर्गाप्रसाद भट्टराई, सुरथ पोखरेल, आनन्दकुमार श्रेष्ठ, खिमलाल गौतम, पद्मबहादुर भण्डारी र रुक्मणि गुरुङ रहनुभएको छ ।
शाखा अधिकृत निरौलाले सगरमाथा आरोहणका लागि रु तीन करोड विनियोजन गरिएको जानकारी दिए ।