काठमाडौँ, २८ मङ्सिर ।
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिबिना आफ्नो पार्टीले बहुमतीय सरकारका लागि कुनै व्यक्ति विशेषलाई प्रधानमन्त्री नस्वीकार्ने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालद्वारा डल्लुस्थित उनको निवासमा आज आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष खनालले भने –‘बहुमतीय सरकारबाट शान्ति र संविधान बन्थ्यो भने धेरै पहिले नै बनिसक्थ्यो, यस्तो सरकार हिजो पनि थियो आज पनि छ, त्यसैले एमालेले शान्ति र संविधानको ग्यारेन्टी गर्न नसक्ने बहुमतीय सरकारलाई समर्थन गर्नुको कुनै औचित्य छैन ।’
एमालेले राष्ट्रिय सहमतिको अडान छाडेर बहुमतीय सरकारलाई समर्थन नगर्ने बताउँदै उनले आजदेखि सुरु हुने पार्टीको केन्द्रीय कमिटीको बैठकले पनि यस अडानलाई फेरबदल नगर्ने स्पष्ट पारे ।
अहिले पहिलेभन्दा पनि परिस्थिति विकसित भएर चुनौतीहरू थपिँदै गएकाले राष्ट्रिय सहमतिको आवश्यकता र महत्व झन् बढ्दै गएको धारणा राख्दै अध्यक्ष खनालले भने– ‘अब सहमति गरेर अघि बढिएन भने बाँकी साढे पाँच महिनाभित्र पनि शान्ति र संविधान नबन्ने सम्भावना बढ्छ, मुलुक द्वन्द्वमा फस्न सक्छ ।’
हात्तीवन र गोकर्ण बैठकको छलफलमा दलहरू शान्ति, संविधान र सत्ता साझेदारीका बारे सहमतिको धेरै नजिक पुगिसकेकाले फेरि गम्भीर भएर सहमति कायम गर्न लाग्नुपर्ने उनको भनाइ थियो ।