ललितपुर, २७ मङ्सिर
परम्परागत ऊर्जाको खपतलाई कम गरी वातावरणीय स्वच्छता कायम गर्ने वैकल्पिक ऊर्जा प्रविधिको उपयोगबाट कार्वन व्यापार गरी नेपालले राम्रो आम्दानी गर्नसक्ने विज्ञहरुले बताएका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ऊर्जा अध्ययन केन्द्र तथा हिमालयन एलाइन्स फर क्लाइमेट चेन्जको संयुक्त आयोजनामा आइतबार यहाँ सम्पन्न अन्तरक्रियाका सहभागीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा गणेश गुरुङले नेपालमा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै यसको उपयोगबाट कार्वन उत्सर्जन कम गरी त्यसवापत कार्वन बिक्रीबाट गरिबी निवारण गर्न सकिने धारणा व्यतm गरे ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा नारायणप्रसाद चौलागाईंले वायोग्यासबाट बचत कार्वन बिक्री गरी देशले आम्दानी गर्न सुरु गरिसकेको उल्लेख गर्दै कार्वन व्यापारसम्बन्धी रणनीति तर्जुमा भइरहेको जानकारी दिए ।
पूर्वमन्त्री गणेश शाहले कार्वन व्यापारबाट नेपालले राम्रो विदेशी मुद्रा आर्जन गर्न सक्ने भएकाले राज्यले यसतर्फ ध्यान दिनुपर्ने जोड दिए ।
ऊर्जा अध्ययन केन्द्रका निर्देशक डा त्रिरत्न वज्राचार्यले कार्वन व्यापारका बारेमा व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने खाँचो आँैल्याए।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्वन युनिटका प्रवन्धक राजु लौडारीले नेपालमा कार्वन व्यापारको सम्भावना र अनुसन्धानकर्ता कुशल गुरुङले कार्वन व्यापारको व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।