पानीट्याङ्की (मोरङ), १८ मङ्सिर
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले दलहरुबीच सहमति गरेर संसदको बैठक बोलाउनुपर्ने बताएकीछन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको अवस्थामा संसदलाई रोकेर राख्नुभन्दा दलहरुबीच चाँडै सहमति गरेर संसद बैठक बोलाउनुपर्ने बताए ।
शान्तिप्रक्रिया थाती रहेको र संविधान निर्माण प्रक्रिया अगाडि बढ्न नसकिरहेको अवस्थामा संसद सञ्चालन गरी विवादित मुद्दाको टुङ्गो लगाउनुपर्ने उनको धारणा थियो ।
काँग्रेस नेत्रीसमेत कोइरालाले सभापति सुशील कोइरालाले मनोमानी र एकलौटीरुपमा भन्दा छलफलबाट पार्टीको पदाधिकारी चयन गर्नुपर्ने बताइन ।
उनले सभापति कोइरालाले ल्याएको रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम पुनःविचार गर्नुपर्ने र अर्को नाम ल्याउन पार्टीका सबै जिम्मेवार सदस्यसँग छलफल गर्नुपर्ने विचार राखिन । रासस