काठमाडौँ, १६ मङ्सिर
नयाँ संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति जुटाउन गठित उच्चस्तरीय संयन्त्र कार्यदलको आज बिहान सिंहदरबारमा बसेको बैठकमा संविधानको आधारभूत विषयमा छलफल भए पनि सहमति कायम हुन सकेन ।
बैठकमा एकीकृत नेकपा (माओवादी) ले बहुलवादलाई कुनै हालतमा स्वीकार नगर्ने अडान लिएको थियो भने नेपाली काँग्रेस, नेकपा (एमाले) लगायतका दलहरुले अहिलेको सामाजलाई बहुलवादबाट मात्र अघि बढाउन सकिने तर्क राखेका थिए ।
त्यसैगरी संविधानको नाम राख्ने विषयमा समेत एकमत हुन सकेन ।
माओवादीले ‘जनताको सङ्घीय गणतान्त्रिक संविधान’ राख्नुपर्ने सुझाव राख्यो भने अन्य दलले ‘सङ्घीय गणतन्त्र संविधान’ राख्नुपर्र्नेे धारणा राखे ।
त्यसैगरी मौलिक हकअधिकार र राज्यका निर्देशित सिद्धान्तअन्तर्गत हदवन्दीभन्दा बढी जग्गाको मुआब्जा दिने वा नदिने र १८ वर्ष उमेर पुगेका प्रत्येक नागरिकलाई सैन्य तालिम अनिवार्यरुपमा दिने कि नदिने भन्ने विषयमा पनि राजनीतिक दलबीच मतभिन्नता नै रह्यो ।
बैठक भोलि पुनः बस्ने गरी टुङ्गिएको छ ।