बुटवल, १६ मङ्सिर
पूर्व–पश्चिम राजमार्र्गअन्तर्गत रूपन्देहीको देवदहमा आज बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
देवदह गाविस–९ भलुहीनजिकै भैरहवाबाट काठमाडौं जाँदै गरेको लु१ख ४३३७ नंको बस सडकमा रोकिराखेको ना४ख २०४१ नंको ट्रकमा ठोक्किएर दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा काठमाडौँ महानगरपालिका वडा नं ९ बस्ने वर्ष ६० का हरिराम सापकोटा र अर्का नाम ठेगाना खुल्न नसकेका अन्दाजी ३० वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते २७ मध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको र बाँकीको सामान्य उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ ।
सनाखत् हुन नसकेको शव पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।
रासस