धनकुटा, १५ मङ्सिर ।
पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले प्रजातान्त्रिक शक्ति कमजोर बन्दै गएकाले मुलुक तथालिङ्ग र भताभुङ्ग अवस्थामा पुगेको वताएका छन्
नेपाल पत्रकार महासङ्घ धनकुटाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री थापाले प्रजातान्त्रिक शक्ति एकजुट नभएसम्म मुलुकले निकास पाउन नसक्ने दाबी गरे ।
अनमिन र प्रमुख राजनीतिक दलको आग्रहको बेवास्था गर्दै शान्ति सम्झौता विपरीत माओवादीले लडाकूलाई विस्तारित बैठकमा समावेश गरी शान्ति प्रक्रिया भङ्ग गरेको आरोप लगाउँदै उनले अब नेपाली सेनालाई पनि सरकारले आफूखुसी परिचालन गर्न सक्ने बताए ।
व्यक्तिगत तथा दलीय स्वार्थमा प्रमुख दलहरु लिप्त रहेका कारण राजनीतिक किचलो झाँगिदै गई मुलुकले यस प्रकारको सङ्कट व्यहोर्नु परेको विचार व्यक्त गर्दै पूर्वप्रधानमन्त्री थापाले यसको प्रमुख दोष एकीकृत नेकपा (माओवादी) र एमालेलाई जान्छ भने ।
मुलुक अहिले अत्यन्त कठिन परिस्थितिबाट अगाडि बढिरहेको बताउँदै राष्ट्रिय जनशक्ति पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री थापाले मुलुकलाई निकास दिने सबैभन्दा पहिलो विकल्प प्रजातान्त्रिक शक्ति एकजुट भई अन्य शक्तिसँग सहमति गर्नुमात्र रहेको बताए ।
प्रमुख राजनीतिक दलहरुको अहिलेको व्यवहार र गतिविधि हेर्दा थपिएको समयभित्र पनि संविधान नबन्ने स्पष्ट सङ्केत देखिएको बताउँदै उहाँले संविधान निर्माणका लागि जनदबाब सिर्जना गरी प्रमुख दलहरुलाई सहमतिमा आउन बाध्य बनाउनु पर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री थापाले देशको विकासका लागि सङ्घीयता जानु अनिवार्य भएपनि सङ्घीयताको नाममा केही प्रमुख राजनीतिक पार्टीहरुले अहिले जातीय नारा लगाई मुलुकमा जातीय युद्धको सिर्जना गर्न लागेको बताए ।
जातीय आधारमा सङ्घको विभाजन भए मुलुकमा जातीय युद्ध भई मुलुक विखण्डनतर्फ जाने बताउँदै पूर्वप्रधानमन्त्री थापाले साधन स्रोत, प्राकृतिक आधारमा जनचाहनाअनुरुप सङ्घको विभाजन हुनुपर्नेमा जोड दिए । रासस
कार्यदल बैठक निस्कर्षबिना टुङ्गियो
काठमाडौँ, १५ मङ्सिर । संविधान निर्माणका लागि गठित उच्चस्तरीय कार्यदलको आज सिंहदरबारमा बसेको बैठकमा मौलिक हक अधिकार र राज्यका निर्देशक सिद्धान्तसम्बन्धी मस्यौदामाथि छलफल भए पनि कुनै सहमति हुन सकेन ।
आजको बैठकमा नागरिकलाई सैनिक तालिम दिने कि नदिने भन्ने विषयमा छलफल भएको नेपाली काँग्रेसका सभासद् रमेश लेखकले बैठकपछि वताए ।
उहाँले अहिले शीतयुद्धको समाप्ति भइसकेको अवस्थामा नागरिकलाई सैनिक तालिम आवश्यक नरहेको धारणा राख्नुभएको बताए ।
भावी संविधानका विवादित विषयहरुमा टुङ्गो लगाउन संविधानसभाका २७ वटै राजनीतिक दलको बैठकले एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा सबै दलका शीर्ष नेताहरु सम्मिलित सो उच्चस्तरीय कार्यदल गठन भएको हो ।
सो कार्यदलले संविधानसभाका ११ वटा समितिका मस्यौदाहरुमा देखिएका २२० वटा विवादित विषयमध्ये अहिलेसम्म करिब ५० वटा विषयमा दलहरुबीच सहमति गराइसकेको छ ।
संविधानसभाका दलहरुले सो कार्यदललाई आगामी मङ्सिर २५ गतेसम्मका लागि दोस्रोपटक म्याद थपेको छ ।
आजको बैठकमा शीर्ष नेताहरुको सहभागिता रहेको थिएन ।
सो कार्यदलको राज्यको स्वरुप, सङ्घीय राज्यको सङ्ख्या, आय प्रणालीलगायतका महत्वपूर्ण विषयहरुमा सहमति गर्नुपर्ने कार्य बाँकी नै रहेको छ ।
गत मङ्सिर १ गतेपछि आज बैठक पहिलोपल्ट बसेको हो ।
माओवादीको विस्तारित बैठकका कारण १५ दिनका लागि बैठक स्थगित गरिएको थियो ।
कार्यदलको अर्को बैठक भोलि बिहान पुनः बस्ने बताइएको छ । रासस