कार्यदल बैठक निस्कर्षबिना टुङ्गियो

Read Time:2 Minute, 12 Second

    काठमाडौँ, १५ मङ्सिर 

संविधान निर्माणका लागि गठित उच्चस्तरीय कार्यदलको आज सिंहदरबारमा बसेको बैठकमा मौलिक हक अधिकार र राज्यका निर्देशक सिद्धान्तसम्बन्धी मस्यौदामाथि छलफल भए पनि कुनै सहमति हुन सकेन ।

    आजको बैठकमा नागरिकलाई सैनिक तालिम दिने कि नदिने भन्ने विषयमा छलफल भएको नेपाली काँग्रेसका सभासद् रमेश लेखकले बैठकपछि वताए ।

    उहाँले अहिले शीतयुद्धको समाप्ति भइसकेको अवस्थामा नागरिकलाई सैनिक तालिम आवश्यक नरहेको धारणा राख्नुभएको बताए ।

    भावी संविधानका विवादित विषयहरुमा टुङ्गो लगाउन संविधानसभाका २७ वटै राजनीतिक दलको बैठकले एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा सबै दलका शीर्ष नेताहरु सम्मिलित सो उच्चस्तरीय कार्यदल गठन भएको हो ।

    सो कार्यदलले संविधानसभाका ११ वटा समितिका मस्यौदाहरुमा देखिएका २२० वटा विवादित विषयमध्ये अहिलेसम्म करिब ५० वटा विषयमा दलहरुबीच सहमति गराइसकेको छ ।

    संविधानसभाका दलहरुले सो कार्यदललाई आगामी मङ्सिर २५ गतेसम्मका लागि दोस्रोपटक म्याद थपेको छ ।

    आजको बैठकमा शीर्ष नेताहरुको सहभागिता रहेको थिएन ।

    सो कार्यदलको राज्यको स्वरुप, सङ्घीय राज्यको सङ्ख्या, आय प्रणालीलगायतका महत्वपूर्ण विषयहरुमा सहमति गर्नुपर्ने कार्य बाँकी नै रहेको छ ।

    गत मङ्सिर १ गतेपछि आज बैठक पहिलोपल्ट बसेको हो ।

    माओवादीको विस्तारित बैठकका कारण १५ दिनका लागि बैठक स्थगित गरिएको थियो ।

    कार्यदलको अर्को बैठक भोलि बिहान पुनः बस्ने बताइएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %