जनकपुरधाम, ८ मङ्सिर
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गोरखाको पालुङ्टारमा एकीकृत नेकपा (माओवादी) को विस्तारित बैठकमा लडाकूहरूको सहभागिता गराइनुले बृहत् शान्ति सम्झौताको उल्लङ्घन भएको बताएका छन जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले विशेष समिति मातहत रहेको लडाकूलाई कसरी माओवादीले आफ्नो विस्तारित बैठकमा सहभागी गरायो समितिले गम्भीरतापूर्वक उल्लङ्घन पछिको स्थिति सन्दर्भमा छलफल गर्नु आवश्यक छ भने ।
लडाकूको अब भविष्य के हुन्छ भन्ने प्रश्नको जवाफमा उहाँले विशेष समितिले यसबारे छिनोफानो गर्ने बताए ।
अध्यक्ष यादवले गत मङ्सिर ३ गते व्यवस्थापिका–संसद्मा माओवादी सभासद्हरूले गरेको व्यवहार लोकतान्त्रिक, संसदीय मूल्य मान्यता विपरीत भएको धारणा राखे ।
माओवादीले विरोधका नाममा हातपात गर्नु संसदीय पद्धति विपरीत कार्य हो समेत उहाँले बताए ।
एक प्रश्नको जवाफमा उनले कामचलाउ सरकार आफ्नो सीमाभन्दा बाहिर गएर कार्यहरू गरिरहेको आरोप लगाए ।
सरकारमा सहभागी दलहरू नै एक–आपसमा आरोप प्रत्यारोपण गरेर नयाँ सरकार गठन नगर्ने षड्यन्त्र गरिरहेका छन् भन्दै तत्काल नयाँ सरकार गठन हुने सम्भावना संसद् विघटित घटनापछि क्षीण भएको पनि उनले बताए । रासस