लमजुङ, ८ मङ्सिर
हिमालपारिको जिल्ला मनाङमा हिमपात सुरु भएको छ ।
माथिल्लो मनाङको टङ्की मनाङ, खाङ्सार, भ्राका, ङावल तथा नार र फू गाविसमा हिजो रातिदेखि हिमपात भएको हो । केही स्थानका ग्रामीण क्षेत्रहरूमा हिउँ बाक्लोरूपमा जमेको छ ।
हिमपातका कारण माथिल्लो मनाङका बसिन्दाको जनजीवन कष्टकर बनेको छ ।
विद्यालयमा विद्यार्थी जान नसकेका कारण उनीहरूको पढाइसमेत प्रभावित बनेको अन्नपूर्ण माध्यमिक विद्यालयका शिक्षक ध्रुव पङ्गेनीले जानकारी दिए ।
हिमपातले तल्लो मनाङमा पनि चिसो निकै बढेको छ । अन्नपूर्ण पदयात्रामा निस्किएका पर्यटक हिमपातका कारण प्रभावित बनेको पर्यटन व्यवसायी मनाङका अध्यक्ष विनोद गुरुङले बताए ।
यसअघि गत कात्तिकको दोस्रो साता पनि माथिल्लो मनाङमा हिमपात भएको थियो ।
हिमपातका कारण मनाङमा गत वर्षहरूमा भन्दा यसपटक जाडो अत्यधिक बढेको स्थानीय बासिन्दाले बताएका छन् ।
रासस