काठमाडौ, २ मङ्सिर
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले शिविरमा रहेका लडाकूलाई एकीकृत नेकपा (माओवादी)को विस्तारित बैठकमा समावेश गराउन नहुने बताएकीछिन् ।
नेपालस्थित दक्षिण कोरियाली दूतावासको आर्थिक एवम् प्राविधिक सहयोगमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित दक्षिण एसियामा दक्षिण कोरियाको सहकार्य र भविष्य विषयक छलफल कार्यक्रमको उद्घाटन पश्चात् उप्रधानमन्त्री कोइरालाले सो कुरा बताएकी हुन् ।
उपप्रधानमन्त्री कोइरालाले लडाकूको राजनीतिक सहभागिता हुने हो भने शिविरमा रहनुको के अर्थ रहन्छ भन्ने प्रश्न पनि गरिन ।
उपप्रधानमन्त्री कोइरालाले अहिले सरकार शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउँदै नयाँ संबिधान लेखनमा जुटिरहेको र यसका लागि दलहरूबीच समझदारी कायम पनि भएको बताइन ।
उनले जलस्रोत, पर्यटन, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने नीति सरकारको रहेको पनि जानकारी दिइन ।
सार्क महासचिव डा सिलकान्त शर्माले सार्क क्षेत्रीय मञ्चमा दक्षिण कोरियाले पर्यवेक्षकको रुपमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएन ।
नेपाल स्थित दक्षिण कोरियाका राजदूत हङ सुङमोङले दक्षिण कोरियाले सूचना तथा सञ्चारका क्षेत्रमा गरेको विकास अन्य देशका लागि अनुकरणीय रहेको बताइन ।
रासस