काठमाडौँ, २ मङ्सिर
राष्ट्रिय जनमुक्ति पार्टीले मुलुकलाई सरकार विहीनताको अवस्थाबाट मुक्त पार्न तत्काल प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया रद्द गर्नुपर्ने माग गरेको छ ।
सो पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी व्यवस्थापिका–संसदमा रहेका सबै दलको संयुक्त सरकार गठन गर्ने प्रक्रिया सभामुखद्वारा अगाडि बढाउनुपर्ने र सरकारको नेतृत्व सबै दलबाट अध्यक्ष मण्डलीय प्रणालीअनुसार सञ्चालन गर्ने व्यवस्था अविलम्व थालनी गर्नुपर्नेमा समेत जोड दिएको छ ।
लामो समयसम्म देश सरकारविहीन हुँदा मुलुकले बेहोर्नु परेको आर्थिक क्षतिकोे जिम्मेवारी प्रधानमन्त्री निर्वाचनमा निरन्तर तटस्थ बस्दै आएका नेकपा (एमाले) र मधेसवादी दलले लिनुपर्ने सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका सहअध्यक्ष गोरेबहादुर खपाङ्गीले अहिलेको राजनीतिक अस्थिरता हटाउनका लागि भए पनि जारी प्रधानमन्त्रीको निर्वाचन रद्द गरिनुपर्ने वताए ।
माओवादी लडाकूलाई राष्ट्रिय सेनामा समायोजन गर्न नहुने तर्क गर्दै उनले भने ‘ उनीहरू कुन क्षेत्रमा उपयुक्त हुन्छन् त्यसमै व्यवस्थित गरी समायोजन गरिनुपर्छ ।’ रासस