कञ्चनपुर, २ मङ्सिर । शुक्लाफाँट आरक्षको जग्गा कब्जा गरेर बस्दै आएका आरक्ष पीडितका तीन दर्जनभन्दा बढी बालबालिका बिरामी परेका छन् ।
आरक्षको तारपुर क्षेत्रमा चार वर्षदेखि पुनःस्थापनको माग राख्दै बस्दै आएका आरक्ष पीडितका ती बालबालिका बढ्दै गएको चिसोका कारण रुघाखोकी, ज्वरो र हाटखुट्टा दुख्ने समस्याबाट पीडित भएका छन् ।
बढ्दै गएको चिसोका कारण आढ्ने, विच्छयाउने र लगाउने कपडाको अभावमा बालबालिका बिरामी पर्न थालेको अक्कलबहादुर बिष्टले बताए ।
औषधि गर्न पैसा छैन, सित्तैमा कहाँबाट उपचार हुन्छ अर्का पीडित नरिमान दुङ्गालले बताए ।
स्वास्थ्य चौकीबाट निःशुल्क उपचार हुन्छ भन्ने समेत नबुझेका उनले चार वर्षअघि निर्माण गरेको झुपडीका छानोको घाँस कुहिएर झरेपछि झुपडीभित्रै शीत पर्ने गरेका कारण जाडोले बालबालिका कठयाङ्ग्रिएर बिरामी परेको बताए ।
आरक्षका सुरक्षाकर्मीले आरक्ष क्षेत्रबाट घाँस दाउरा समेत ल्याउन नदिने भएकाले थप समस्या भएको पीडितले दुःखेसो पोखेका छन् ।
आरक्षले विस्तारित क्षेत्रबाट हटाएपछि पुनःस्थापना नगरेको भन्दै पीडितहरु २०६४ सालदेखि झुपडी बनाइ त्यस क्षेत्रमा बस्दै आएका छन् । हाल त्यस क्षेत्रमा ८० परिवार आरक्ष पीडित बस्दै आएका छन् ।
रासस