काठमाडौँ, ३० कात्तिक
संविधान निर्माणका लागि गठित उच्चस्तरीय कार्यदलको आज बसेको बैठकमा मौलिक हकको विषयमा छलफल भएको छ ।
सिंहदरबारमा बसेको सो बैठकमा भूमिसुधार र हदबन्दीभन्दा बढी जग्गाको व्यवस्थाका बारेमा भएको छलफलमा दलहरू आ–आफ्नै अडानका कारण सहमति हुन सकेन ।
बैठकमा एकीकृत नेकपा माओवादीले व्यक्तिको हदबन्दीभन्दा बढी जग्गाको क्षतिपूर्ति दिन नहुने धारणा राखेको थियो भने नेपाली काँग्रेस, नेकपा (एमाले) र अन्य दलले मुआब्जा दिनुपर्ने विचार राखेका थिए ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै नेपाली कांँग्रेसका रमेश लेखकले सार्वजनिक प्रयोजनका लागि राज्यले जग्गा प्राप्त गर्दा क्षतिपूर्ति दिने विषयमा सहमति भएको तर हदबन्दीभन्दा बढीको विषयमा भने सहमति नभएको बताए ।
माओवादी नेता देव गुरुङले सामन्तवादी प्रणालीको अन्त्यका लागि सामन्तहरूको जग्गा बिनामुआब्जा गरिब किसानलाई वितरण गरेर मात्र सामाजिक न्याय दिन सकिने धारणा राखे ।
उच्चस्तरीय एवम् कार्य दलको अर्को बैठक भोलि बिहान बस्ने भएको छ ।
रासस