मन्त्रिपरिषद्दद्धारा मङ्सिर ३ गते पूर्ण बजेट प्रस्तुत गर्ने निर्णय

Read Time:2 Minute, 57 Second

काठमाडौँ, २९ कात्तिक । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मङ्सिर ३ गते व्यवस्थापिका–संसद्मा चालु आर्थिक वर्षका लागि पूर्ण बजेट प्रस्तुत गर्ने निर्णय गरेको छ ।

     बजेट निर्माणका लागि तयारी गर्न अर्थ मन्त्रालयलाई निर्देशन  दिएको बैठकपछि सूचना तथा सञ्चार मन्त्री तथा नेपाल सरकारका प्रवक्ता शङ्कर पोखरेलले जानकारी दिए ।  

    नयाँ सरकार बन्न नसकेपछि ल्याइएको वर्तमान सरकारले आर्थिक वर्षको प्रारम्भमा कुल वार्षिक खर्चको एक तिहाइ (तृतीयांश) को पेश्की बजेट ल्याएको थियो । उक्त बजेटको अवधि सकिँदासम्म पनि राजनीतिक सहमति हुन नसक्दा वर्तमान सरकारले नै पूर्ण बजेट ल्याउन लागेको हो ।

     बैठकले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) को कार्यान्वयनका लागि राहदानी नियमावली–२०६७ संशोधन गर्ने सैद्धान्तिक सहमति गरेको छ ।

    बैठकले नेपाल भ्रमणमा रहनुभएका साउदी अरबका राजकुमार अल बलिद विन तलाललाई महाउज्ज्वल राष्ट्रदीप विभूषण प्रदान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री पोखरेलले जानकारी दिए ।
नेपालको रोजगारी र आर्थिक विकासमा साउदी अरबले गरेको योगदानको कदर गर्र्दै राजकुमार तलाललाई सो विभूषण प्रदान गर्ने सिफारिस गरिएको उनले वताए ।

    यसैगरी, नेपाल सरकारले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूकी नजरबन्दमुक्त भएकोमा स्वागत गरेको छ ।

मन्त्री पोखरेलले उनको रिहाइबाट म्यानमारमा प्रजातन्त्रको विकासमा थप योगदान पुग्ने विश्वास लिइएको वताए ।

    यसैगरी, बैठकले शिक्षा नियमावलीमा पाँचौ संशोधन गर्ने निर्णय गरेको छ भने विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि रु आठ अर्ब ४७ करोडको सहायतामा हस्ताक्षर गर्न अनुमति पनि दिएको छ ।  

    बैठकले प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा रुसी महासङ्घको सेन्टपिटस्वर्गमा यही नोभेम्बर २१ देखि २४ सम्म हुने विश्व बाघ सम्मेलनमा भाग लिन सहमति प्रदान गरेको प्रवक्ता पोखरेलले जानकारी दिए । रासस
––––––

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %