परासी, २९ कात्तिक
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल–४ मा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३ख ५६०२ नम्बरको यात्रुबहाक बसलाई सोही दिशाबाट आउँदै गरेको ना३ख ७३३६ नम्बरको बसले उछिन्ने क्रममा दुबै बस ठोक्किँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा ना३ख ७३३६ न.को बसमा सवार बर्दीया महेशपुर–७ की ३० वर्षीया सरस्वती घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ ।
घाइते तीनै जनाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रासस