मोरङ (पानीट्याङ्की), २६ कात्तिक
चारदिनअधि अज्ञात समूहद्वारा हत्या गरिएका विराटनगरका औषधि व्यवसायी सुरेश मण्डलको हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा खटिएको टोलीले जिल्लाको कर्सिया र अमरदह क्षेत्रबाट दुईजनालाई पक्राउ गरेको हो ।
अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाहरुको पहिचान भने प्रहरीले गोप्य राखेको डिएसपी ढकालले जानकारी दिए ।
यसअघि प्रहरीले मृतक मण्डलका पूर्व व्यापारिक साझेदार भनिएका प्रमोद मण्डलसहित तीनजनालाई पक्राउ गरेको थियो । सबैलाई आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
औषधि व्यवसायी मण्डलको गोली हानी हत्या भएको विरोधमा औषधि व्यवसायीले २१ सदस्यीय सङ्घर्ष समिति बनाई हत्यारालाई सार्वजनिक गर्न माग गर्दै तीनदिनदेखि विराटनगरका सबै औषधि पसल बन्द गर्दै आएका छन् । रासस