मोरङ (पानीट्याङ्की), २४ कात्तिक
औषधि व्यवसायीको हत्याको विरोधमा आज विराटनगरका सम्पूर्ण औषधि पसलहरु बन्द गरिएका छन् ।
विराटनगरको जहदा रोडमा रहेको न्यूरो अस्पतालमा औषधि पसल सञ्चालन गर्दै आएका ४० वर्षका औषधि व्यवसायी सुरेश मण्डल (सुरज) को मङ्गलबार राति १० बजे मोटरसाइकलमा आएका अज्ञात समूहले विराटगर–१२ स्थित सिद्धार्थ चोकमा अन्धाधुन्द गोली प्रहार गरी हत्या गरेका थिए ।
व्यवसायी मण्डलको शरीरमा आठवटा गोली लागेको र उनको शरीर कोशी अञ्चाल अस्पतालमा पोष्टमार्टम गरिएको छ ।
हत्याराको खोजी गरी कारबाहीको माग गर्दै औषधि बिक्रेताहरुले नगरका सम्पूर्ण औषधि पसलहरु बन्द गराइरहेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा संलग्न भएको आरोपमा तीनजनालाई पक्राउ गरेपनि कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको मोरङका नायब उपरीक्षक रेवती ढकालले बताए ।
रासस