काठमाडौँ, २४ कात्तिक
नेपाली काँगे्रसले एकीकृत नेकपा (माओवादी)ले अघि सारेको अध्यक्षात्मक प्रणालीलाई अस्वीकार गर्न प्रधानमन्त्री माधवकुमार नेपाललाई आग्रह गरेको छ ।
ती दलका शीर्ष नेताहरुको बैठक सुरु हुनुअघि काँगे्रस–एमालेको समान धारणा बनाउन प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान भएको छलफलमा काँगे्रस सभापति सुशील कोइरालाले प्रधानमन्त्रीसँगको भेटमा सो आग्रह गरेका हुन् ।
तिहारअघि तीनदलका शीर्ष नेताहरुको बैठकमा एमाओवादीले तीनदलको अध्यक्षमण्डल बनाएर पालैपालो सरकारको नेतृत्व गर्ने प्रस्ताव अघिसारेपछि काँग्रेस केन्द्रीय समितिको बैठकले सो प्रस्ताव अवैधानिक भएको ठहर गर्दै त्यो अस्वीकार्य रहेको बताइआएको छ ।
छलफलमा एमाओवादीको नयाँ सरकारसँगै बजेट ल्याउनुपर्ने अडानप्रति काँगे्रस र एमालेले असहमति व्यक्त गरेको बुझिएको छ ।
मुलुकलाई आर्थिक सङ्कटबाट मुक्त गराउन भए पनि बजेट ल्याएर अन्य विषयमा छलफल अगाडि बढाउनुपर्नेमा समेत छलफल भएको जानकारी काँगे्रस नेता डा प्रकाशशरण महतले दिए ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक गतिरोधको अन्त्य गरी शान्ति बहाली, नयाँ संविधान, बजेट र तीनदलका शीर्ष नेताहरुबीच भएका विभिन्न चरणका बैठकमा व्यक्त अभिव्यक्तिहरुप्रति समेत चासो व्यक्त गरिएको थियो ।
प्रधानमन्त्री नेपालसँग छलफलका लागि काँगे्रस सभापति कोइराला, विमलेन्द्र निधि, डा रामशरण महतलगायतका वरिष्ठ नेताहरु बालुवाटार पुग्नुभएको थियो । छलफलमा एमाले अध्यक्ष झलनाथ खनाल भने अनुपस्थित थिए । रासस