तीन दिनमा २४ डेङ्गु रोगी

Read Time:3 Minute, 11 Second

नारायणगढ, २३ कात्तिक

चितवनका अस्पतालमा तीन दिनको अवधिमा २४ जना डेङ्गु रोगका बिरामी थपिएका छन् ।

 जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कात्तिक १९ गतेपछि आज यहाँका अस्पतालबाट लिइएको तथ्याङ्कमा २४ जना थप डेङ्गु रोगी भेटिएका हुन् ।

 जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार थपिएका डेङ्गु रोगीमध्ये सबैभन्दा बढी चितवनका छन् । त्यसैगरी रुपन्देही, नवलपरासी र मकवानपुरबाट पनि डेङ्गु रोगका बिरामी आएका छन् ।

 थपिएका डेङ्गु रोगका बिरामी सहित चितवनका अस्पतालमा उपचारका लागि आएका ५१८ जना डेङ्गुका बिरामी रहेको परीक्षणबाट पत्ता लगेको छ ।

 जिल्लाका विभिन्न अस्पतालमा आएका दुई हजार ५१६ जना ज्वरोका रोगीको डेङ्गु परीक्षण गरिएको थियो ।

 डेङ्गु रोग लागेकामा सबैभन्दा बढी काम गर्ने उमेर समूहका पुरुष रहेका पनि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

 निरीक्षक केसीले भने– ‘१५ देखि ४० वर्षबीचका व्यक्तिमा बढी डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।’

 चितवनका अस्पतालमा डेङ्गु रोगको उपचार गराउने क्रममा हालसम्म तीनजनाको ज्यान समेत गइसकेको छ । पछिल्लो पटक यही कात्तिक १८ गते एकजना पुरुषको डेङ्गु रोगको कारण ज्यान गएको छ ।

 चितवन मेडिकल कलेज भरतपुरको सघन कक्षमा उपचार गराइरहेका रुपन्देही बुटवल नगरपालिका–२ घर भएका ३१ वर्षीय पुरुषको ज्यान गएको हो । अहिलेसम्म डेङ्गु रोगबाट मृत्यु भएकामध्ये तीनैजना रुपन्देहीका रहेको पनि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

 यसअघि कात्तिक १२ गते बुटवल नगरपालिका–२ घर भएका ३३ वर्षका पुरुषको ज्यान गएको थियो । उनको भरतपुर मेडिकल कलेजको सघन कक्षमा उपचारको क्रममा ज्यान गएको हो ।
 
 यसै गरी गत असोज २३ गते रुपन्देहीको परुवा गाविसका ३९ वर्षका पुरुषकै डेङ्गु रोगका कारण ज्यान गएको थियो ।

 डेङ्गुका कारण मृत्यु हुने चितवन जिल्ला बाहिरका भए पनि जिल्लाका अस्पतालमा उपचार गराइरहेका भने सबैभन्दा बढी चितवनका डेङ्गु रोगी भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

 कार्यालयका अनुसार जिल्लामा आउने कुल रोगीमध्ये ७० प्रतिशत बढी डेङ्गु रोगी जिल्ला सदरमुकाम भरतपुर र आसपासका बजार क्षेत्रका  छन् । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %