काठमाडौँ, २२ कात्तिक
एनेकपा (माओवादी) स्थायी समिति सदस्य देव गुरुङले दलहरुबीच आगामी दिनमा सहमति कायम गरी अघि बढ्न हात्तीवनमा भएको शीर्ष नेताहरुसहितको बैठकले सहमतिको आधार तयार गरेको बताएका छन् ।
जनसञ्चार अभियानद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले मुलुकमा विद्यमान समस्याका बारेमा बैठकमा गहन छलफल भएको र कात्तिक २४ गते बस्ने बैठकले केही महत्वपूर्ण निर्णय लिने विश्वास व्यक्त गरे ।
नेता गुरुङले बैठकमा नेपाली काँग्रेस र नेकपा (एमाले)को एउटा धारले सरकार गठनलाई भन्दा माओवादी सेनाका लडाकूको सेना समायोजना गर्न गठित विशेष समितिको बैठकलाई प्राथमिकता दिनाले समस्या सुल्झाउन भने कठिनाइ भएको बताए ।
एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले)को अर्को धारले प्रमुख दलहरुबीच सहमति कायम गरी सबै समस्या प्याकेजका आधारमा समाधान गर्नुपर्छ र त्यसका लागि सरकार गठनलाई उच्च प्राथमिकता दिँदै अन्य कार्यलाई सँगसँगै लानुपर्ने अडान राखेको जानकारी उनले दिए ।
नेता गुरुङले भने –‘ बैठक अपेक्षा गरेअनुसार नभए पनि निराशा भने तुल्याएको छैन, एनेकपा (माओवादी)ले सेना समायोजन विशेष समिति र सरकार गठनसम्बन्धी कार्यतालिका बनाई अघि बढ्नका लागि प्रस्ताव गरिएको छ । ’
काम चलाउ सरकारले नीतिगत निर्णय गर्न संवैधानिक रुपले नमिल्ने भएकोले छिटो नयाँ सरकार गठन गर्न आफ्नो पार्टीले जोड दिएको बताउँदै नेता गुरुङले जसजसबीचमा सहमति हुन्छ त्यसैको आधारमा नयाँ सरकार गठन गर्दा एनेकपा (माओवादी)लाई आपत्ति हुने वताए ।
रासस