काठमाडौँ, १६ कात्तिक
नेपाल सम्वत्को नयाँ वर्षका दिन यही कात्तिक २२ गते विदा दिन नेवार समुदायले सरकारसँग माग गरेका छन् ।
नेवाः देय् दबुको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरी सो दिन सार्वजनिक विदा दिइनुपर्ने माग गरेका हुन् ।
प्रधानमन्त्री नेपालले सो दिन बिदा दिन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
दबुका अध्यक्ष नरेश ताम्राकारको नेतृत्वमा विभिन्न माग राखी ज्ञापनपत्र बुझाउन गएको टोलीले सरकारी क्यालेन्डरमा नेपाल सम्वत् र दिनाङ्कको उल्लेख गरिनुपर्ने, नेपाल राष्ट्र बैंकबाट निष्कासन हुने सम्पूर्ण मुद्रामा नेपाल सम्वत् उल्लेख गरिनुपर्ने र नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा व्यवहारमा लागू गरिनुपर्नेमा जोड दिएको छ ।
नेवार समुदायको सबैभन्दा ठूलो चाडका रुपमा रहेको तिहारको लक्ष्मीपूजा, म्हपूजा, किजा पूजा (भाइटीका) क्रमशः यही कात्तिक २०, २१ र २२ गते परेकाले तीन दिन सार्वजनिक विदा दिन आग्रह गरिएको अध्यक्ष ताम्राकारे वताए ।
सो ज्ञापनपत्रमा सरकारी मान्यता प्राप्त पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको तिहारको विभिन्न पर्वका दिनहरुप्रति आफूहरुको सहमति नरहेको दाबी गरिएको छ । रासस