डेङ्गुबाट थप एकजनाको मृत्यु,

Read Time:3 Minute, 0 Second

चितवन  १६ कात्तिक 

चितवनमा डेङ्गु रोगबाट थप एकजनाको ज्यान गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार रुपन्देहीका ३३ वर्षीय एक पुरुषको डेङ्गुबाट ज्यान गएको हो ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार गत १० गते उपचारका लागि भरतपुर मेडिकल कलेजमा ल्याइएकोमा उनको उपचारका क्रममा कात्तिक १२ गते ज्यान गएको हो ।

तर जनस्वास्थ्य कार्यालयलाई अस्पतालले ढिला गरी खबर गरेका कारण आजमात्र थाहा भएको केसीले जानकारी दिए ।  

योसँगै चितवनमा डेङ्गुबाट मर्नेको सङ्ख्या दुई पुगेको छ । गत असोज  २३ गते सोही अस्पतालमा एकजनाको मृत्यु भएको थियो । यसअघि नवलपरासीमा एक र रुपन्देहीमा दुईजनाको डेङ्गुका कारण ज्यान गइसकेको छ ।

अहिलेसम्म चितवनमा डेङ्गुबाट दुई, लेप्टो स्पाइरोसिसबाट एक, टाइफाइडबाट एक र भाइरल ज्वरो लागेका १६ जनाको ज्यान गएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    चितवनमा डेङ्गुका बिरामी आउने क्रममा केही कमी भएको भए पनि नियन्त्रणमा भने आउन सकेको छैन । अहिलेसम्म यहाँ ४५४ जना डेङ्गुका रोगीहरु फेला परेका छन् । जसमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् ।

यस्तै ५४ जना लेप्टो स्पाइरोसिस र २४ जना ए एचवान एन भाइरसका रोगीहरु फेला परेका छन् ।

प्रकोप बढ्दै गएपछि यहाँका स्थानीयवासीको सक्रियतामा डेङ्गु नियन्त्रण व्यवस्थापन समिति गठन गरेर कामसमेत सुरु गरिएको छ । यहाँ सरसफाइ र चेतनामूलक कार्यक्रमलाई भने तीव्रता दिइएको छ ।
ट्रयाक्टरवाट  ठक्करवाट एकको मृत्यु 

   यसैबीच चितवनको भन्डारामा ट्र्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

भण्डाराबाट राप्ती खोलातर्फ जाँदै गरेको ना३त ४९४४ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा भण्डारा–७ वेल्डियाका अनिल चौधरीका एक वर्षका छोरा प्रिन्स चौधरीको ज्यान गएको हो ।

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिहान पौने ११ बजे भरतपुर मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

    ठक्कर दिने ट्र्याक्टर र चालक आफ्नो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

 

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %