कास्की (लेखनाथ), १५ कात्तिक
रोमाञ्चक र साहसिक खेलको रुपमा परिचित स्काई डाइभको पर्यटकीय नगरी पोखरामा आज सफल परीक्षण उडान भएको छ ।
एभरेष्ट स्काई डाइभ र तारा एयरको संयुक्त आयोजनामा भएको सो परीक्षणका लागि पोखरा विमानस्थलबाट उडान भरी पोखराको छिनेडाँडास्थित निमार्णाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलटहरु ओर्लिएका थिए ।
पहिलो उडानमा तारा एयरको पिलाटस पोर्टरमा १४ हजार फिटमाथिबाट हाम फालिएको थियो । उडानमा विश्व च्याम्पियन तथा गिनिज बुकमा रेकर्ड राख्न सफल न्युजिल्यान्डकी विण्डीस्मिथसहित चारजना विदेशी पाइलटहरु र दुईजना नेपालीले उडान भरेका थिए ।
स्काई डाइभ गरिसकेपछि एभरेष्ट स्काई डाइभका अध्यक्ष सुमन पाण्डेले पोखराको आकासबाट निकै मनोरम दृश्य देखिएको बताउँदै स्काई डाइभको लागि पोखरा अत्यन्त उपयुक्त ठाउँ भएको बताए ।
स्काइ डाइभको परीक्षण उडान मङ्गलबारसम्म सञ्चालन हुनेछ ।
परीक्षण उडान सफल भएमा स्काइ डाइभिङ कार्यक्रमलाई व्यवसायिकरुपमा पोखरामा सञ्चालन गर्ने अध्यक्ष पाण्डेले बताए ।
पोखरामा संस्थाले गत मे महिनामा स्याङ्बोचेमा टेन्डम स्काई डाइभिङ गरेका तीन प्रशिक्षार्थीलाई एएफएफ तालिम दिइनेछ ।
स्काई डाइभबाट स्वदेशी तथा विदेशी पर्यटकहरु तालिमका लागि पोखरा आउने हुनाले पोखरामा पर्यटन विकासमा सहयोग पुग्ने पाण्डेले आशा व्यक्त गरे ।
संस्थाको आयोजनामा सगरमाथाको कालापत्थर र स्याङ्बोचेमा यसअघि यस किसिमको परीक्षण उडान भरिसकिएको छ । रासस