पैसा असुलेको अभियोगमा तेह्र प्रहरी कारबाहीमा

Read Time:3 Minute, 12 Second

भैरहवा, १४ कात्तिक 

राजमार्गमा भारतीय सवारी साधनबाट अवैधरुपमा पैसा असुल गर्ने लुम्बिनी अञ्चलका १३ जना प्रहरी कारबाहीमा परेका छन् ।

अञ्चल प्रहरी कार्यालय लुम्बिनीले भारतीय सवारी साधनमा बसेर नेपाल–भारत सीमा बेलहियाबाट नवलपरासीको गैँडाकोटसम्म गरेको स्थलगत निरीक्षणका क्रममा सवारी साधनबाट पैसा असुल गर्नेजति सबैको नामावली सङ्कलन गरी उनीहरुमाथि कारबाही अगाडि बढाएको हो ।

कारबाहीमा पर्नेमा  सात ट्राफिक र छ जनपथ प्रहरी रहेका छन् ।  यसमध्ये पाँच प्रहरी हवल्दार र आठजना प्रहरी जवान छन् ।

उनीहरुमाथि अञ्चल प्रहरी कार्यालय लुम्बिनीले अनुसन्धान गरी क्षेत्रीय प्रहरी कार्यालय पोखरालाई कारबाहीका लागि सिफारिस गरेको छ ।

कारबाही पर्नेमा प्रहरी हवल्दार जगतबहादुर सुनार–प्रहरी बिट देवकोटाचोक, खेमबहादुर बाह्रघरे इलाका प्रहरी कार्यालय नवलपुर, होमबहादुर छन्तेल वडा प्रहरी कार्यालय बुटवल, नारायण भण्डारी रामनगर चेकप्वाइन्ट र रामचन्द्र बस्ताकोटी अस्थायी ट्राफिक पोष्ट सुनवल रहेका छन् ।

त्यस्तै प्रहरी जवानहरुमा अम्बरबहादुर दर्लामी प्रहरी विट बसपार्क भैरहवा, चन्द्रिका चन्द इलाका प्रहरी कार्यालय कावासोती, टीकाबहादुर बस्नेत, पिताम्बर पौडेल गैँडाकोट ट्राफिक, मधु जिसी, धनन्जय न्यौपाने वडा प्रहरी कार्यालय बुटवल इन्द्र न्यौपाने रामनगर चेकप्वाइन्ट र छवि चिदी मगर प्रहरी चौकी सुनवलमा कार्यरत रहेका छन् ।

भारतीय सवारी साधनबाट उच्च तहका प्रहरी अधिकारीले पनि एकमुष्ठरुपमा पैसा लिने गरे पनि उनीहरु कारबाहीमा परेका छैनन् । सडकमा ड्युटीका लागि तल्लो तहका कार्मचारी खटिने भएकाले सडकमा गरिएको निरीक्षणमा तल्लोतहका प्रहरी कर्मचारीमात्र कारबाहीमा तानिएको अञ्चल प्रहरी सूत्रले जनायो ।

राजमार्गमा भारतीय सवारी साधनबाट अवैधरुपमा पैसा असुली हुने गरेको र त्यसबाट राजमार्गमा अपराध मौलाएको, उपभोग्य वस्तुको मूल्य वृद्धि हुने गरेको उजुरी परेपछि प्रहरी राजमार्गलाई अवरोध मुक्त बनाउने अभियानका क्रममा ती प्रहरीले पनि पैसा असुल गरेको पाइएपछि कारबाही गरिएको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अर्यालले बताए। रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %