कैलाली, १४ कात्तिक
प्रहरी भर्नामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट भर्नासम्बन्धी कागजातहरु नियन्त्रणमा लिएको छ ।
आयोगका सह–सचिव रामकृष्ण आचार्यको नेतृत्वमा आएको अख्तियारको टोलीले शुक्रबार क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट भर्नासम्बन्धी कागजातहरु नियन्त्रणमा लिएको हो ।
देशभरि प्रहरी भर्नामा अनियमितता भएको चर्चा चलिरहेका बेला क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा पनि अनियमिता भएको आरोप लागेको छ ।
प्रहरी भर्नामा दरखास्त हाल्नेहरुमध्ये अधिकाँशबाट ठूलो रकम घुस लिएको पनि आरोप लागिरहेको छ ।
‘हामी भूतपूर्व प्रहरीबाट समेत मेडिकलमा उत्तीर्ण पास गराएवापत रु २५ हजार मागिएको थियो तर हामीले दिएनौँ’ नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक पदबाट सेवानिवृत भएका महेन्द्रनगरका राजेन्द्र भट्टले भए ।
उनले प्रहरीमा भर्नाका बेला मानिसहरुले रु एक लाखसम्म घुस दिएको आरोप लगाए ।
भट्टले भर्नाका लागि रकम दिनेहरुलाई कम तौल वा शुनै घाउ खत भए पनि भर्ना गरेको आरोप लगाउनुभयो । अख्तियारले छानविन ग¥यो भने आधाभन्दा बढी युवक कुनै न कुनै रुपमा कमजोर देखिने उनको दावी छ ।
मेडिकलमा खटिएका क्षेत्रीय प्रहरी अस्पतालका डा मनोजकुमार यादवले पनि मेडिकलमा पास गरेको रु २५ हजार माग गरेको अर्का भूपू प्रहरी कैलाश नेगीले आरोप लगाए ।
उनले आफ्नो छोरा यसअघिको भर्नामा मेडिकलमा पास भएर अन्तर्वार्तामा फेल भएको बताउँदै भन्नुभयो– ‘रक्तचाप कम भएकाहरुलाई पनि उत्तीर्ण गरिएको छ ।’
नेगीले भर्ना छनोटमा पश्चिमका युवकभन्दा पनि पूर्वबाट आएका युवकबाट रकम लेनदेन भएको आरोप लगाउनुभयो । ‘सुदूरपश्चिमका युवकबाट रकम लिए थाहा पाइने भएका कारण पूर्वबाट आएकाहरुबाट रकम लिइएको छ’ उनले भने
सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका प्रमुख तथा भर्ना समितिका अध्यक्ष प्रहरी उपरीक्षक नारायणसिंह खड्काले भने भर्नामा रकम लेनदेनको आरोप निराधार भएको दाबी गरे
उनले कम तौल भएका युवकहरु पनि छनाट नगरेको दाबी गरे ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले खुल्लातर्फ सिपाहीका लागि ३५७ जना र समावेशीतर्फ २९३ गरी ६५० पदमा भर्ना लिँदैछ ।
रासस