मोरङ, १३ कातिक
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले अब जनमुक्ति सेना राज्यको सेना भइसकेको बताएका छन् । शनिवार टंकीसिनवारी जेसिजले आयोजना गरेको ‘वर्तमान राजनीतिक समस्या र दलहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अब जनमुक्ति सेना माओवादी पार्टिको मात्र सेना नभइ राज्यको सेना भइसकेको स्पष्ट पार्दै उनले जनमुक्ति सेनालाई राष्ट्रिय सेनाको रुपमा बुझ्नु पर्नेमा जोड दिए । जनमुक्ति सेनालाई समस्याको रुपमा तेर्साइ शान्ति र संविधानको कुरालाई ओझेलमा पार्ने कार्य बन्द गरिनुपर्ने तर्क गर्दै उनले शान्ति सम्झौता अनुसार राष्ट्रिय सेनामा समायोजन गर्नुको विकल्प नभएको समेत जिकिर गरे ।
अहिलेको मुख्य कार्य शान्ति स्थापना र नयाँ संविधान निर्माणका लागी राष्ट्रिय संयुक्त सरकार रहेको चर्चा गर्दै उनले त्यसलाई सफल पार्न अग्रगामी शक्ति एकिकृत माओवादीको नेतृत्वमा नै सरकार गठन हुनुपर्नेमा जोड दिए ।