काठमाडौँ, ११ कात्तिक
संविधान निर्माणका लागि सहमति खोज्न गठित उच्चस्तरीय संयन्त्रको आज सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति जुट्न सकेन । संविधानसभाका छवटा विषयगत समितिका विषयवस्तुमा राजनीतिक दलहरुबीच विवाद देखिएपछि संविधानसभाका २७ वटा दलले त्यसको टुङ्गो लगाउन एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो ।
आजको बैठकमा सहमति जुट्न नसकेपछि भोलि बिहान तीन दलका शीर्ष नेताहरुको बैठक बसी राजनीतिक सहमतिबाट टुङ्गो लगाउने निर्णय गरिएको छ । बैठकमा सबै विषयमा छलफल भए पनि पर्याप्त समय दिएर गम्भीरतापूर्वक बुँदागत रूपमा सहमति हुनुपर्ने आवश्यकता रहेको कार्यदलका सदस्य उपेन्द्र यादवले बताए । शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतका विवादित विषयमा कार्यदलका सहयोगीले गरेका गृहकार्य बारेमा पनि बैठकमा छलफल भएको थियो ।
रासस