इन्चेन (दक्षिण कोरिया), १० कात्तिक । दैवीप्रकोप क्षति न्यूनीकरणसम्बन्धी चौथो एसियाली मन्त्रिस्तरीय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ ।
चारदिने सो सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका करिब ६० देशका ८०० प्रतिनिधि संलग्न छन् ।
गृहमन्त्री भीम रावलको नेतृत्वमा नेपालबाट सहभागिता जनाइएको सो सम्मेलनमा नेकपा एमालेका नेता केपी ओली तथा दैवीप्रकोप क्षति न्यूनीकरण सम्बन्धमा कार्यरत सरकारी र गैरसरकारी पनि संलग्न छन् ।
सो सम्मेलनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै दक्षिण कोरियाका प्रधानमन्त्री किम वाङ सिकले दैवीप्रकोपबाट प्रतिवर्ष हुने घटनाबाट लाखौँ मानिसलाई बचाउन सबैले साझारुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
सम्मेलनमा मुख्य मन्तव्य दिँदै भुटानका प्रधानमन्त्री जिग्मी वाइ थान्लेले जलवायु परिवर्तनको विषयमा जोड दिँदै भुटानले सन् २०११ मा हुने हिमालयन क्षेत्रका देशको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारीमा रहेको चर्चा गरे ।
सम्मेलनमा संयुक्त राष्ट्र सङ्घका महासचिव वान की मुनले पठाउनुभएको भिडियो सन्देशमा हालै पाकिस्तानमा भएको बाढीको दैवीप्रकोपबारे चर्चा गर्दै दैवीप्रकोपपछिको समस्याबारे चर्चा गरे ।
इन्चेन महानगरपालिकाका प्रमुख सुङ योङ जिल र विश्व बैंकका क्षत्रीय निर्देशक जोन रुमले एसियाली देशमा हुने दैवीप्रकोप क्षति न्यूनीकरण विषयमा जोड दिए ।
विगत तीन दशकमा विश्वमा भएका दैवीप्रकोपको ८९ प्रतिशत एसिया क्षेत्रमा हुने सम्मेलनमा जानकारी गराइएको छ ।
सो अवसरमा दैवीप्रकोप नियन्त्रणमा सञ्चारक्षेत्रको भूमिका विषयक सञ्चार गोष्ठीमा नेपाल, भारत, बङ्गलादेश, फिलिपिन्स, भियतनाम, कम्बोडिया, सिङ्गापुर र इन्डोनेसियाका पत्रकारहरुले भाग लिइरहेका छन् ।
रासस