बर्दिवास, ९ कात्तिक
महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । गत भदौ मसान्तसम्ममा ४५ मात्र सङ्क्रमित रहेकामा असोज महिनाभरिको परीक्षणबाट तीनजना थपिएपछि जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ४८ पुगेको नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले जनाएको छ । पछिल्लोपटक परियोजनाले सञ्चालन गरेको स्वेच्छिक परामर्श एवम् रक्त परीक्षण केन्द्र (भिसिटी सेन्टर) मा एकजना डेढ वर्षको बालकसहित तीनजनाको रक्त परीक्षणमा सङ्क्रमण फेला परेपछि सङ्क्रमितको सङ्ख्या ४८ पुगेको परियोजना प्रबन्धक धीरज पौडेलले जानकारी दिनुभयो ।
सङ्क्रमितमध्ये चार बालकसहित २६ जना पुरुष र दुई बालिका सहित २२ जना महिला रहेको परियोजनाले जनाएको छ । सङ्क्रमित बालबालिका पाँच वर्षमुनिका रहेको बताइएको छ ।जिल्लामा परियोजनाले मात्र एचआइभी परीक्षणका लागि भिसिटी सेन्टर २०६१ साल साउनदेखि सञ्चालन गर्दै आएको छ । यस अवधिमा ९४५ जनाले स्वेच्छिक रूपमा एचआइभी जाँचका लागि रक्त परीक्षण गराएका प्रबन्धक पौडेलले जानकारी गराए ।
रासस