भक्तपुर ९ कात्तिक
गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सरकारले नियुक्ति गरेका उपाध्यक्ष र सदस्य सचिवलाई कार्यकक्षमा प्रवेश गर्न नदिने गरी भएको अनिश्चितकालीन तालाबन्दीका कारण उच्चमाध्यामिक शिक्षा परिषदमा महत्वपूर्ण कार्य रोकिएका छन् । सरकारले आगामी चार वर्षका लागि परिषद्का उपाध्यक्षमा डा हेमकुमार मिश्र र सदस्य–सचिवमा भीमलाल गुरुङलाई नियुक्त गरेपछि गत असोज १६ गते एनेकपा (माओवादी) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, अखिल क्रान्तिकारी र अखिल नेपाल शिक्षक सङ्गठनले संयुक्तरूपमा अनिश्तिकालीन तालाबन्दी गरेका हुन् ।
कामचलाउ सरकारले गरेको निर्णय मान्य नहुने भन्दै गरिएको तालाबन्दी आजसम्म पनि नखुलेपछि परिषद्मा गत असोज १८ गतेदेखि हाजिर भएका उपाध्यक्ष र सदस्य–सचिव आफ्नो कार्यकक्षसमेत पस्न पाएका छैनन् । आएदेखि नै उपाध्यक्ष तथा सदस्य–सचिव परिषद्को सभाहलमा बस्ने गरेको, कर्मचारीसँग सभाहलमै बसेर काम गर्ने गरेका उपाध्यक्ष डा मिश्रले बताए । तालाबन्दीका कारण आफ्नो कार्यकक्षमा बसेर काम गर्न नपाएको, गोप्य तथा महत्वपूर्ण निर्णय गर्न नपाएको र पदाधिकारीलाई समस्या परेको बताए ।
तालाबन्दीपछि ताला खोल्न, मागपत्र प्रस्तुत गर्न, छलफल एवम् वार्ता गर्न तालाबन्दी गर्ने समूह नआएको र तालाबन्दीपछि सम्र्पकसमेत नगरेर अनिर्णयको बन्दी बनाएको उनले बताए । असोज १२ गते सरकारले १०४ वटा निर्णय गरेको तर माओवादीलाई परिषदमा नियुक्ति गर्ने निर्णयमात्र मुख्य भएन भन्नु र सम्बन्धित ठाउँमा नगई परिषदमा तालाबन्दी गर्नु उनीहरूको स्वार्थ भएको उहाँले बताउनुभयो । परिषद्का सदस्य–सचिव गुरुङले तालाबन्दीका कारण आएदेखि नै कार्यकक्षमा बसेर काम गर्न नपाएकाले काम गर्न निश्चित थलो नभएको बताए ।
सभाहलमा बसेर हाजिर गरी विभिन्न महाशाखामा गएर बस्ने गरेकाले आवश्यक कामका लागि उपाध्यक्ष र सदस्य–सचिवलाई कोठा–कोठा खोज्दै हिँड्नु पर्ने समस्यासमेत आएको कर्मचारी बताउँछन् । शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाले सचिवसँग वार्ता गर्ने भने पनि तालाबन्दी गर्ने समूहले मन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने सर्त राखेको तर मन्त्रीले उनीहरूसँग आफू वार्तामा नबस्ने अडान लिएपछि वार्ता हुन नसकेको स्रोतले बताएको छ ।
रासस