काठमाडाँै, ८ असोज । रक्षामन्त्री विद्यादेवी भण्डारीले शान्तिप्रक्रिया टुङ्गोमा नपुगेसम्म तथा माओवादी लडाकूको व्यवस्थापन हुन नसकेसम्म नयाँ संविधान जारी हुन नसक्ने धारणा राखेकी छन्
नेकपा (एमाले) जिल्ला सङ्गठन कमिटी काठमाडौँले नेपाल सम्वत् ११३१ नववर्षलाई भव्यरूपमा मनाउन आज यहाँ आयोजना गरेको बृहत् भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ संविधानलाई समयमै जारी गर्न एकीकृत नेकपा माओवादीले आफ्नो हठ त्यागेर उदारता प्रदर्शन गर्नुपर्ने बताइन ।
मन्त्री भण्डारीले अहिलेको राष्ट्रिय राजनीतिको बाधक पनि माओवादी नै भएको आरोप लगाए ।
उनले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता प्रदान गर्न तथा शंखधर साख्वालाई राष्ट्रिय विभूतिको मान्यता दिलाउन एमालेले पहल गरेको बताउँदै यो नयाँ वर्षलाई सबैले भव्यताका साथ मनाउन आग्रहसमेत गरे ।
भेलाले नयाँ वर्षलाई भव्यरूपमा मनाउन नौवटा विभिन्न उपसमितिसमेत गठन गरेको छ ।
गठित उपसमितिहरूमा जलपान व्यवस्थापन, प्रचारप्रसार, आर्थिक, साँस्कृतिक कार्यक्रम, मञ्च व्यवस्थापन, रक्तदान कार्यक्रम, जनपरिचालन, स्वागत व्यवस्थापन र स्वयम्सेवक व्यवस्थापन उपसमिति रहेका छन् ।
कमिटीले नयाँ वर्षलाई भव्यरूपमा मनाउन कमिटीका संयोजक निर्मल कुइँकेलको संयोजकत्वमा एक हजार ५१ सदस्यीय नेपाल संवत् ११३१ नववर्ष समारोह समिति काठमाडौँ गठन गरेको थियो ।
नव वर्ष ११३१ को प्रारम्भ कात्तिक २१ बाट हुनेछ । रासस