पोखरा, ८ कात्तिक । विश्व प्रेस काउन्सिल कार्यकारी समितिको बैठक पोखरामा बस्यो ।
बैठकमा विश्वका पत्रकारहरूले पालना गर्नुपर्ने आचारसंहिता, नेपाली प्रेसजगत र पत्रकारहरूले भोग्नुपरेका समस्या, पत्रकारहरूले समाचार लेखेकै कारण ज्यान जोखिममा राख्नुपर्ने जस्ता विषयमा व्यापक छलफल भएको छ ।
समितिको बैठक सकिएपछि अर्को बैठकका लागि आजै चितवन जाने प्रेस काउन्सिलका सदस्य किशोर श्रेष्ठले बताए ।
चितवनमा बैठक सम्पन्न भएपछि सो टोलीले प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष पत्रकार र पत्रकारिता क्षेत्रले झेल्नुपरेका समस्याका बारेमा ध्यानाकर्षण गराउने उनले जानकारी दिए ।
विश्व प्रेस काउन्सिलका अध्यक्ष जेएन रेलेको नेतृत्वमा समितिको बैठकका लागि १४ सदस्यीय टोली हिजो पोखरा आएको थियो ।
विश्व प्रेस काउन्सिलको अर्को वर्षको बैठक नयाँदिल्लीमा बस्ने बताइएको छ । रासस